मकवानपुर– मकवानपुरका सबै उद्योगमा कार्यरत मजदुरको एन्टिजेन विधिबाट कोभिड परीक्षण गर्न उद्योगीहरुलाई जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले एक हप्ता भित्र सबै उद्योगमा कार्यरत मजदुरको एन्टिजेन विधिबाट कोभिड परीक्षण गर्न निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले उद्योग संघ मकवानपुरलाई उद्योग प्रतिष्ठानहरूसँग आवश्यक समन्वय गरी उद्योग प्रतिष्ठानमा कार्यरत सम्पूर्ण मजदूर कर्मचारीहरूको एक हप्ताभित्र अनिवार्यरूपमा एन्टिजेन परीक्षण गर्ने तथा संक्रमितहरूलाई आइसोलेशनमा पठाउने र सोको जानकारी जिल्ला कोभिड व्यवस्थापन समितिलाई गराउन निर्देशन दिएको हो ।
त्यस्तै बैठकले कोभिडको समयमा उपचारमा रहेको स्वास्थ्कर्मीलाई मृत्युभएको विषयलाई निँहु बनाई कुटपिट गर्ने, तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याइने भएको छ । यसैगरी पल्पसामा ३० बेड क्षमताको आइसोलेसन सेन्टर संचालनका लागि अनुमति प्रदान गर्नुका साथै युनिलिभरले उपलब्ध गराएको १५ थान अक्सिजन कन्सन्ट्रेटर हेटौंडा अस्पताललाई उपलब्ध गराएको छ ।