मकवानपुर – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा करीब ३ हजार कर्मचारी खटिने भएका छन् । जिल्लाको दुई निर्वाचन क्षेत्रमा ३६४ मतदान केन्द्रमा सुरक्षाकर्मी बाहेक करिब तीन हजार कर्मचारी खटिने बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ३ सय ६४ मतदान केन्द्र रहेको छ । जस मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १६९ र क्षेत्र नम्बर २ मा १९२ मतदान केन्द्र रहेको छ । जिल्लाका मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरु कार्तिक २३ गते बुधबारसम्ममा नियुक्त गरिने उहाँले बताउनुभयो । निर्वाचनका लागि मकवानपुरमा अहिले समानुपातिकतर्फका मतपत्र आइसकेको पोखरेलले बताउनुभयो । समानुपातिक तर्फका क्षेत्र १ का लागि १ लाख ६६ हजार र क्षेत्र २ का लागि १ लाख ६६ हजार गरि ३ लाख ३२ हजार मतपत्र आएको उहाँले बताउनुभयो । यस पटकको निर्वाचनमा ४ प्रकारका मतपत्र आएको र अब प्रत्यक्षतर्फका मतपत्र र मेडिकल सामग्रीहरु आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
मकवानपुरमा अहिले ३ लाख ७३३ मतदाता रहेका छन् । जसमा प्रतिनिधितर्फ मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १५५ जना र मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५० हजार ५७८ मतदाता रहेका छन् । प्रदेश क्षेत्रतर्फ क्षेत्र १ को (क) मा ७७ हजार ९८९ जना र (ख) मा ७२ हजार १६६ जना मतदाता रहेका छन् ।
आगामी निर्वाचनका लागि मकवानपुरमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार रहेका छन् । यस्तै क्षेत्र नम्बर २ मा १० जनाको उम्मेदवार रहेका छन् । प्रदेश सभातर्फ क्षेत्र १ को (क) मा १० जना र (ख) मा १५ जना उम्मेदवार रहेका छन् । क्षेत्र २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार रहेका छन् । यस्तै क्षेत्र नम्बर २ को (क) मा ८३ हजार ९९ जना र २ को (ख) मा ६७ हजार ४ सय ६९ जना मतदाता रहेका छन् । जिल्लामा ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
प्रतिनिधितर्फ मकवानपुर क्षेत्र १ मा बागमती गाउँपालिका, बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाका वडा क्रमशः २, ४, ५, ६, ७, , ९, १०, १२, १३, १४, १५, १६, १७ र १, मकवानपुरगढी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा पर्दछन् । यस्तै मकवानपुर क्षेत्र २ मा इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाका १, ३, ११ र १९, मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडा पर्दछन् । निर्वाचन आउन अब १८ दिन बाँकी हुँदा जिल्लामा निर्वाचनका लागि निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले तयारी तीव्र पारेको छ ।