अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आजको खेलमा भारतले बङ्गलादेशलाई ५ रनले पराजित गरेको छ । आजको जितले भारतको सेमिफाइनल पुग्ने सम्भावना निकै बलियो भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो । तर, लक्ष्य पछ्याउने क्रममा बङ्गलादेशले ७ ओभरमा बिना विकेटको क्षतिमा ६६ रन बनाएर खेल्दै गर्दा वर्षाले खेल अवरुद्ध हुन पुग्यो ।
वर्षा रोकिएपछि १६ ओभरमा खेल झारियो र बङ्गलादेशले जितका लागि १ सय ५१ रनको नयाँ लक्ष्य पायो । तर, राम्रो स्थितिमा रहेको बङ्गलादेश ठूलो सट हान्ने प्रयासमा लगातार विकेट गुमाउँदा दबाबमा पुग्यो । निकै रोमाञ्चक मोडमा खेल पुग्दा १६ ओभरमा ६ विकेटको क्षतिमा बङ्गलादेशले १ सय ४५ रन मात्र बनाउँदा खेल भारतको पक्षमा गयो । बङ्गलादेशका नुरुल हसन र तास्किन अहमदले टोलीलाई जित नजिक पुर्‍याएका थिए । तर, उनीहरूको प्रयास पर्याप्त हुन सकेन । अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको अवस्थामा नुरुलले १५.२ ओभरमा छक्का र १५.५ ओभरमा चौका हिर्काएका थिए । अन्तिम बलमा जितका लागि ७ र बराबरी गर्नका लागि ६ रनको चाहिएको अवस्थामा स्ट्राइकमा रहेका नुरुलले १ रन मात्र हिर्काउँदा भारतले खेल ५ रनले जित्यो । आजको जितसँगै चार खेलबाट भारत ६ अङ्क बटुलेर समूह २ को अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । हारपछि समान खेलमा बङ्गलादेश ४ अङ्कका साथ तेस्रो स्थानमा यथावत् छ । ३ खेल खेलेको दक्षिण अफ्रिका ५ अङ्कसहित दोस्रो स्थानमा छ ।