न्युजिल्यान्डका ड्यारेल मिचेल आईसीसी वरीयताको शीर्ष स्थानमा

न्युजिल्यान्डका स्टार क्रिकेटर ड्यारेल मिचेल आईसीसी एकदिवसीय (ओडीआई) ब्याटिङ वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा मिचेल दुई स्थान सुधार गर्दै पहिलो स्थानमा पुगेका हुन्। उनले भारतका कप्तान रोहित शर्मालाई पछि पार्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

यससँगै ड्यारेल मिचेल सन् १९७९ मा ग्लेन टर्नरपछि ओडीआई ब्याटिङ वरीयतामा नम्बर एकमा पुग्ने न्युजिल्यान्डका दोस्रो खेलाडी बनेका छन्। न्युजिल्यान्डका दिग्गज मार्टिन क्रो, रस टेलर र केन विलियमसन शीर्ष पाँचसम्म मात्र सीमित रहँदा कहिल्यै पनि पहिलो स्थानमा पुग्न सकेका थिएनन्।

नयाँ वरीयताअनुसार भारतका रोहित शर्मा दोस्रो स्थानमा झरेका छन् भने अफगानिस्तानका इब्राहिम जाद्रान तेस्रो स्थानमा उक्लिएका छन्। नेपाल तर्फ आसिफ शेख ९३औँ र कप्तान रोहित पौडेल ९५औँ स्थानमा यथावत् रहेका छन्।

यस्तै, ओडीआई बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहेका छन्। इङ्ग्ल्यान्डका जोफ्रा आर्चर दोस्रो र दक्षिण अफ्रिकाका केशव महाराज तेस्रो स्थानमा यथावत् छन्। नेपालका सन्दीप लामिछाने एक स्थान तल झर्दै ४९औँ स्थानमा पुगेका छन्। ललित राजवंशी ५६औँ, दीपेन्द्रसिंह ऐरी ८२औँ र करण केसी ९३औँ स्थानमा रहेका छन्।

ओडीआई अलराउन्डर वरीयतामा पनि अफगानी क्रिकेटरहरूको दबदबा देखिएको छ। अजमतुल्लाह ओमरजाई शीर्ष स्थानमा कायम छन् भने जिम्बावेका सिकन्दर राजा दोस्रो र अफगानिस्तानकै मोहम्मद नबी तेस्रो स्थानमा यथावत् छन्। अलराउन्डर सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी ४१औँ, सन्दीप लामिछाने ५८औँ, करण केसी ६८औँ, सोमपाल कामी ७३औँ, कुशल मल्ल ७४औँ र ललित राजवंशी ८३औँ स्थानमा परेका छन्।