मकवानपुर– हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोरखा लहरी प्रा.लिले कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि ११ लाख रुपैया सहयोग गरेको छ । कम्पनीले बागमती प्रदेश सरकारले स्थापना गरेको (कोभिड–१९) कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख र जिल्ला समन्व्य समिति मकवानपुरले स्थापना गरेको कोरोना आपतकालिन कोषमा १ लाख गरि ११ लाख रुपैयाँ सहयोग गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजनमा कम्पनीका म्यानेजर बजरंगी प्रसाद सिंहले सोमबार उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । म्यानेजर सिंहले मुख्यमन्त्री डोरमणि पौडेललाइ १० लाख र जिसस प्रमुख खुलाललाई १ लाख रूपैयाँ बराबरको चेक हस्तान्त्रण गर्नुभएको हो । बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारसङ्ग हातेमालो गर्न प्रदेश र जिल्ला स्थित कोषमा रकम जम्मा गरिएको म्यानेजर सिंहले बताउनुभएकाे छ ।
महामारीका रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागिरहेको र कम्पनीले गरेको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सरकारले मात्र चाहेर नहुने भन्दै विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयाे । मुख्यमन्त्री पौडेलले महामारीसंग जुध्न सबैको सहयोग आवश्यक रहेकाले सक्दो सहयोगका लागि सबैलाई आग्रह गर्नुभएकाे हाे ।