मकवानपुर–हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । सबैका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्रतियोता सुरु भएको हो ।

भुटनदेबी युवा क्लबको आयोजना सुरु भएको प्रतियोगिताको आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख खुलालले समृद्धिका लागि खेलकुदको विकास जरुरी भएको बताउनुभयो । उहाँले खेलकुदले पर्यटनलाई समेत टेवा पुग्ने हुनाले यसको विकास जरुरी भएको बताउनुभयो । रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रमुख खुलालले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
आगामी फागुन २० गते सम्म हेटौंडाको लोकतान्त्रिक (हुप्र) चौरमा सञ्चालन हुने प्रतियोगितामा आयोजक भुटनदेबी युवा क्लब संगै कोल्बी भेट्रान्स, सर्लाही भेट्रान्स, महाबौद्ध कार्पेट एण्ड बौद्ध भेट्रान्स, अभिषेक चर्च नवलपुर भेट्रान्स (नवलपरासी), वागमति गाउपालिका खेलकुद विकास समिति, एफसी हुप्रा एम, सिमरा भेट्रान्स, हेटौडा फुटसल भेट्रान्स, हेटौडा भेट्रान्स, एफसी विजय युथ र फरेस्ट्री बिहानी भेट्रान्स गरि १२ वटा भेट्रान्स क्लवले सहभागि भएका छन् ।
प्रतियोगिताको पहिलो दिन आज दुई प्रतियोगिता भएको छ । आजको पहिलो खेलमा एफसी हुप्रा एम र हेटौडा फुटसल भेट्रान्स, कोल्बी भेट्रान्स र वागमति गाउपालिका खेलकुद विकास समिति बीच भएको हो । प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख, द्धितीय हुनेले नगद ५० हजार लगायत शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र सम्पूर्ण खेलमा म्यान अफ दि म्याच हुनेलाई ट्रफी प्रादान गरिने आयोजकले जनाएको छ । भुटन देवी युवा कल्बका अध्यक्ष सबिन मोक्तानको अध्यक्षतामा भएको प्रतियोगितामा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, १० नम्बर वडा अध्यक्ष किताव सिंह लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामालगायतको सहभागिता रहेको थियो ।