उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । पदबहालीपछि मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन पुनर्निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री प्रयोग गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
उहाँले स्थानीय उत्पादन प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको भन्दै यसले उद्योग–व्यवसाय र उद्यम विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । युवालाई रोजगारी दिन र सीप विकासमा जोड दिने उद्देश्य सरकारको रहेको बताउँदै उहाँले आन्दोलनका घाइते र सहादत प्राप्त गरेका परिवारलाई समेत रोजगारीको अवसर सिर्जना गर्ने योजना रहेको जानकारी दिनुभयो ।
मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराएर सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको स्पष्ट पार्नुभयो । उहाँले छ महिनाभित्र अनलाइन प्रणालीमार्फत कार्यसहजीकरण गर्ने र जेनजी आन्दोलनले दिएको योगदान खेर जान नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिन्हा यसअघि सर्वोच्च अदालतका न्यायाधीशका रूपमा समेत काम गरिसक्नुभएको छ ।