मकवानपुर । हेटौंडामा पहिलो पटक नाटक प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा झलझली मल्टीक्रियसनको व्यवस्थापनमा हेटौंडामा पहिलो पटक सामाजिक रूपान्तरणका लागि चेतनामूलक प्रथम नगर स्तरिय सडक नाटक प्रतियोगिता हुन लागेको हो ।

सामाजिक रुपान्तरण तथा विकासका लागी नाटक भन्ने नाराका साथ यही फागुन १८ गतेदेखि २३ गतेसम्म नगरस्तरीय नाटक प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । प्रतियोगिता बारेमा जानकारी दिनुहुँदै ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले नाटक तथा नाटककर्मीहरुको विकाससंगै समाजमा रहेका विसंगति, विकृति, कुरीति, अन्धविश्वास, लागूऔषध दुव्र्यसनी, वालविवाह हटाउन सचेतनामूलक कार्यक्रम अन्तर्गत नगरमै पहिलो पटक विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

प्रतियोगितामा ६ वटा सामुदायिक विद्यालय, ५ वटा संस्थागत विद्यालय र एउटा बाल सञ्जाल गरि १३ वटा समूहबिच प्रतिष्पर्धा हुने झलझलि मल्टीक्रियसनका आशाकाजी श्रेष्ठले बताउनुभयो । हरेक दिन १० देखि १३ जनाको समूहले ३० मिनेटको नाटक प्रस्तुत गर्नेछन् । साथै प्रदर्शित नाटकहरु मध्ये पहिलो, दोश्रो, तेश्रो हुने समूहलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगिताको निर्णायक मण्डलमा सिस्नुपानी नेपाल मकवानपुरका प्रतिनिधी, नाट्यकर्मी रिता लामा र सोम लामा रहेका छन् । पुरस्कार वितरण समारोह फागुन २३ गते भूटनदेवी माध्यामिक विद्यालयमा हुने बताइएको छ ।










