मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको नेतृत्वमा मात्र देशमा सुशासन सम्भव रहेको बताउनुभएको छ । शनिबार मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वमा मात्र देशमा सुशासन सम्भव छ भन्ने कुरा जनताले पनि बुझेको बताउनुभयो । भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने भन्दै उहाँले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको साथै देशबाट भ्रष्टाचारको अन्त्य भएमात्र सामाजिक न्याय स्थापित गर्न सकिने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार रहेको समेत उल्लेख गर्नुभयो । माओवादीको नेतृत्वमा मात्र देशमा सुशासन सम्भव छ भन्ने कुरा जनताले बुझेकोसमेत बताउनुभयो । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको बताउनुभयो ।