मकवानपुर । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा बागमती युवा क्लबले बिजयी सुरुवात गरेकाे छ । आज (शनिबार) बाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको हाे । बागमतीले आयोजक टिमलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गरेको हो ।
बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३ औं मिनेटमा गरेको गोल नै निर्णय बन्याे । खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए । प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका तीन टिमको सहभागिता छ । आगामी फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत आइतबार सशस्त्र प्रहरी बलको एफपीएफ क्लब र हानामीबीच प्रतिस्पर्धा हुनेछ । बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङको अध्यक्षतामा भएको प्रतियोगिताको माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो ।