पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालाको फुटबल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३—१ को गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्सले उपाधि जितेको हो ।

ब्ल्याक बुल्सको जितमा जाखोंगिर अख्माडोभ, एशिलवेक ओरिभजोनोभ र शभ्कतजोन स्याटोरोभले गोल गर्नुभयो । पुलिसको लागि ब्ल्याक बुल्सका डिफेन्डर खेलाडी अलीजोनले उपहार गोल दिनुभएको हो ।

प्रतियोगितामा ब्ल्याक बुल्सका शभ्कतजोन स्याटोरोभ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले एक थान इलेक्ट्रिक स्कुटर उपहार प्राप्त गर्नुभयो । त्यसै गरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा ब्ल्याक बुल्सका जसुरबेक राजाबोभ, उत्कृष्ट डिफेन्डरमा ब्ल्याक बुल्सका अलीजोन अलीजोनोभ, उत्कृष्ट फरवार्डमा ब्ल्याक बुल्सका अजिजबेक खुर्सोन बोइभ, उत्कृष्ट मिड फिल्डरमा पुलिसका कप्तान राम वाजी, उत्कृष्ट प्रशिक्षकमा ब्ल्याक बुल्सका अब्दुलाजीज निशोनवाएव घोषित हुनुभयो ।

प्रतियोगिताको अनुशासित टिममध्ये भारत सिक्किमको थन्डर वोल्टस् नर्थ यूनाइटेड घोषित भएको छ । विजयी खेलाडीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, क्लबका अध्यक्ष केशवराज बराल, प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।