मकवानपुर । मकवानपुरमा ट्रक र अटो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हेटौँडा–११, थानाभर्याङस्थित यातायात कार्यालयअगाडि पूर्व–पश्चिम राजमार्गमा फागुन २ गते राति करिब ७ः५० बजे दुर्घटना भएको हो ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ३५ वर्षीया पूजा बम्जन गम्भीर घाइते भइन्। उनलाई उपचारका लागि चुरेहिल अस्पताल, हेटौँडा लगिएको थियो, तर राति ९स्२० बजे चिकित्सकले मृत घोषित गरे।
दुर्घटनामा अटो चालक २५ वर्षीय राजु थिङ गम्भीर घाइते भएका छन् भने अटोमा सवार ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट लागेको छ । घटनापछि ट्रक चालक ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।











