प्रहरीले पाँच किलो चरेशसहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजे काठमाडौँ महानगरपालिका-१६ कालधाराबाट दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुङ्गेलले जानकारी दिए। उनका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा छन् । उनीहरूबाट पाँच किलो चरेश, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको हो । उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको ढुङ्गेलले बताए ।