हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७८–०७९ को लागि ल्याइएको ७२ करोड  रुपैयाँ बजेट पास गरिएको छ । मकवानपुरगढी गाउँपालिकाको गाउँसभाले बजेट पास गरेको हो । गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि भौतिक पूर्वाधार निर्माणमा सबै भन्दा धेरै बजेट खर्चगर्नेगरी बजेट ल्याएको छ ।

पालिकाको सातौँ गाँउसभामा आर्थिक वर्ष २०७८–७९ को लागि नीति, कार्यक्रम तथा बजेट पास भएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो । गाउँपालिकाको बजेटमा सबै भन्दा धेरै सडक निर्माण, पुल निर्माण, खानेपानी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट छुट्याएको अध्यक्ष हुमागाईले वताउनुभयो । गत आर्थिक वर्ष ०७६–०७७ को बजेटमा ६३ करोड ५४ लाख ५१ हजार रकम सहितको बजेट विनियोजन गरी योजनाहरु सञ्चालन गरेकोमा मकवानपुर जिल्लामै स्थानीयह तहहरु खर्च प्रगतिमा दोश्रो स्थान अर्थात ८१ दशमलव ४३ अर्थात ५१ करोड ७४ लाख ६३ हजार खर्च सहित उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएकोले कार्य सम्पादन मुल्याकंनको आधारमा गढी गाउँपालिकाले जिल्ला समन्वय समिति मकवानपुरबाट तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएको थियो । जसबाट आगामी आर्थिक वर्षका लागि प्रोत्साहनस्वरुप थप ५५ लाख रकम प्राप्त गरेको छ ।