मकवानपुर । बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज सोमबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ ।  प्रतियोगिता दिउसो १ बजेबाट गाउँपालिका वडा–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुनेछ ।
यस अघि हिजो भएको खेलमा साविक उपविजेता  सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित निकालेको छ । एपीएफले चितवन जिल्लाको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मणि कुमार लामाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । बिएफसीका अमन लामाको प्रहार मात्रै गोलमा परिणत भयो । बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोक्दा विदेश खेलाडी बफरको प्रहार पोष्टबाट बाहिर पुगेको थियो । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख तथा उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई जनही १ लाख १ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ भने अन्य विधागत उत्कृष्ट खेलाडीहरुका लागि २५ हजार रुपैयाँका नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ ।