काठमाण्डाै महानगरपालिका–५ को हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायण जात्रा शुरु भएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।
तीन नारायण एवम् ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा देशका अन्य ठाउँ र जात्राको भन्दा फरक छ । अन्य ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने तर यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कही नभएको जात्रा भन्ने गरिएको हो ।
जात्राका क्रममा हिजो हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको थियो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखेर जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो ।