हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मनहरी गाउँपालिकामा रहेको सिमान्तकृत बोटे बस्तीको अनुगमन गर्नुभएको छ । सिमान्तकृत जातीको संरक्षणमा चाँसो राख्दै मुख्यमन्त्री पौडेलले उक्त बस्तीको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले सिमान्तकृत जातजातीको संरक्षणमा सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।

अबलोकनका क्रममा उहाँले गाउँपालिकाले सिमान्तकृत बोटे समुदायको संरक्षणमा देखाएको तदारुक्ताको प्रशंसा समेत गर्नुभएको छ । मनहरी गाउँपालिकाले वडा नम्बर–७ मा रहेका बोटे समुदायकालागि एकिकृत बस्ती निर्माण गरेर होमेस्टेका रुपमा विकास गर्ने योजना अनुसार काम अगाडी बढाएको हेर्न मुख्यमन्त्री बोटे बस्तीमा पुग्नुुभएको हो । प्देश सरकारको सहयोगमा गाउँपालिकाले निर्माणाधीन बोटे जातिको एकीकृत बस्ती निर्माण गरेर होमस्टेमा रूपान्तरण गर्ने योजना बनाएको छ ।

मनहरी–७ को रमौलीमा बोटे समुदायका लागि १४ वटा घर निर्माण गर्न भईरहेका छन । हालसम्म ५ घर निर्माण भइसकेको र अन्य घर निर्माणकै चरणमा रहेका छन् । मनहरी गाउँपालिकाले बोटे समुदायकालागि १० धुरका दरले जग्गा उपलब्ध गराएर घर निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । उक्त समुदायको एकीकृत बस्ती निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख रूपैयाँ र प्रदेश ३ सरकारले ५० लाख रूपैयाँ सहयोग गरेको उहाँले जानकारी दिनुभयो । बोटे समुदायको लागि निर्माण गरिएको एकीकृत बस्तीमा प्रत्येक घर ३ कोठाको रहेको साथै पानी, बिजुली, शौचालय, सडक सबै निर्माण हुने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

माछा मारेर जीविकोपार्जन गर्ने सो समुदायको लागि आर्थिक उपार्जन, शिक्षा, स्वास्थ सचेतनाजस्ता क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको अध्यक्ष उप्रेतीले बताउनुभएको छ । मनहरीलगायत खोलामा माछा मारेर खाने र बिक्री गर्ने काम गर्दै आएका बोटे समुदायलाई पहिले बस्नकै लागि समस्या भएकोले तत्काल आवासको व्यवस्थापन गर्न लागिएको हो । उनीहरूलाई विस्तारै सामाजिकीकरणतर्फ ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजनासमेत गाउँपालिकाले बनाएको उप्ैतीले बताउनुभयो । मुख्यमन्त्री पौडेलसंगै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल समेत उक्त स्थानको अवलोकनमा जानु भएको थियो । उहाँहरुले एकिकृत बाटे बस्ती, सामुदायिक लज, वडा नम्बर ६ को कत्लेखोलाको निमार्णाधिन पुल, बिषाधि रहित तरकारी खेति, राष्ट्रिय निकुञ्ज प्रबेशद्वार साथै महिला समूहद्वारा तयार पारिएको ढाकाको ब्याग र खादाको समेत अवलोकन गर्नुभएको थियो । गाउँपालकाले सामाजि, आर्थिक, सास्कृतिक र भौतिक पक्षमा ध्यान दिएर समग्र विकासमा ध्यान दिएको भन्दै मुख्यमन्त्री पौडेलले प्रशंसा गर्नुभएको थियो ।