file photo

एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली आज (बुधबार) स्वदेश फर्कदैछ । विश्वकप विजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२:३० बजे स्वदेश फर्किन लागेको हो ।
नेपाल क्रिकेट संघ(क्यान) का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो टोलीको भव्य स्वागत गरिने छ । समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्व विजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आकर्षित गर्न सफल भएको थियो ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरूले जनाएका छन ।