काठमाडौं– तत्काली नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा पूर्व सांसद वीरबहादुर लामा एक कुशल, कर्मठ र जुझारु नेताको परिचय बनाएर सबैबाट अलप हुनुभएकोभन्दै उहाँका समकक्षी नेताहरुले स्मरण गर्नुभएको छ । तत्कालीन पञ्चायती शासन विरुद्ध मुक्ति पाउन संघर्षरत नेताहरुले लामाको जुझारुपन, सक्रियता र लगनशीलताकै कारण २०३३ चैत १२ गते राती नख्खु जेलमा सुरुङ बनाएर जेलबाट भाग्न सफल हुनुभएको थियो । त्यही घटना अहिले नेपाली राजनीतिक बृत्तमा “नख्खु जेल ब्रेक” काण्डकोरुपमा परिचित छ ।
स्वर्गीय नेता लामासँग सहकर्मीकोरुपमा सङ्गै काम गर्नुभएका नेता प्रदीप नेपालले सम्झनुभयो, “उहाँको निधनले श्रद्धाञ्जलि व्यक्त गर्ने मसँग शब्द नै छैन, भूमिगतकालमा सँगै लिइएका लामा कक्षाहरु, दरवार मार्गको त्यो साइकोस्टाइल र नख्खुको सुरुङ्मार्ग निर्माणको झल्को सदैव आइरहनेछ, इतिहासले विर्सने छैन ।” सोहीअनुसार नेकपा (माले) का महासचिव नेता सीपी मैनालीले स्वर्गीय लामालाई इमान्दार, त्यागी र लडाकु स्वभागका नेताकोरुपमा स्मरण गर्नुहुन्छ । तत्कालीन पञ्चायती शासनको अन्त्य गरी बहुदलीय व्यवस्था कायम गर्न आफूहरु संघर्षरत रहेका बेला नख्खु जेल ब्रेकको क्रममा लामा र माधव पौडेलको नेतृत्वमा जेलभित्र सुरुङ् खन्ने मोर्चा बनेको उहाँले स्मरण गर्नुभयो । “आफू राजनीतिक समितिको नेतृत्वमा भएपनि सुरुङ खन्ने र जेल ब्रेक गर्ने विचार र सोंच लामा र पौडेलकै थियो” उहाँले भन्नुभयो ।
करिब ३२ देखि ४५ दिन लगाएर हामीहरुले जेलभित्र सुरुङ खन्यौं, सुरुङको मुखमै खरायो पालन गरेर आँखा छल्यो मैनालीले भन्नुभयो, “सामुहिक लगनशीलता र क्रियाशीलताले जस्तोसुकै काम फत्ते हुने सन्देश सुरुङले दियो” मैनालीले बताउनुभयो । त्यतिबेला तीनवटा विषयमा छलफल भएर सुरुङको विकल्पमा गएको उहाँले बताउनुभयो । पहिलो–भित्ताबाट डोरीको माध्यमबाट राती फाल हालेर भाग्ने, दोस्रो– सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कब्जामा लिएर भाग्ने र तेस्रो– सुरुङ खनेर भाग्ने योजनामा तेस्रो योजनामा जाने निर्णय भएको उहाँले स्मरण गर्नुभयो ।
त्यसैगरी स्वर्गीय नेता लामालाई स्मरण गर्नुहुँदै उहाँका सहकर्मी भीष्मा धिमाल (७१) ले एक त्यागी र संघर्षशील नेता गुमाएको बताउनुभयो । लामा देश र जनताप्रति बफादार तथा स्वार्थविनाको नेताको रुपमा उहाँले स्मरण गर्नुभयो । नख्खु जेल ब्रेक गर्ने क्रममा करिब ३२ दिन लगाएर सुरुङ खनिएको स्मरण गर्नुहुँदै धिमालले भन्नुभयो, “कुटो कोदालो, डाँडु पन्यू तथा भरुवा बन्दुकको नालले सुरुङ बनाएर भागेका थियौं, भागेर लामाके नेतृत्वमा हेटौडा पुग्यौं ।” आफूसँगको सहकर्मीको निधन हुँदा मनमा पीडा भएको उहाँले बताउनुभयो ।
पूर्व सांसद धिमालले आफूहरु झापा विद्रोहपछि पक्राउ परी विभिन्न जेलमा रहँदा नख्खु जेलमा लामासँग सहकार्य भएको बताउनुभयो । त्यतिबेला पन्ध्र जना राजबन्दी जेल ब्रेक गरेर भागेको स्मरण गर्नुभयो । उहाँकाअनुसार प्रदीप नेपाल, सीपी मैनाली, हर्क खड्का, गोपाल शाक्य, घनेन्द्र बस्नेत, जीवन मगर, नारद बाग्ले, नरेश खरेल, राजन राजवंशी, वीरबहादुर लामा, अशोक शर्मा लगायत हुनुहुन्थ्यो ।
सोहीअनुसार जेल ब्रेक गर्ने स्वर्गीय लामाका सहकर्मी जीवन मगरकाअनुसार लामा एक साहसिक, धैर्यवान, सहयोगी भावना र लडाकु स्वभावको हुनुहुन्थ्यो । त्यतिबेला पञ्चायत विरुद्धको संघर्षमा आफूहरु जेल ब्रेक गरेको बताउनुहुँदै मगरले जनताको मुक्तीका लागि संघर्ष गरिएको बताउनुभयो । तर वास्तविक लडाकुहरुको योगदानको कदर राजनीतिमा नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । त्यतिबेला नख्खु जेलमा सुरुङ् खन्दा राजनीतिक नेतृत्व सीपी मैनालीले गर्नु भएपनि खन्ने र व्यवस्थापनको जिम्मा वीरबहादुर लामा र आफूले गरेको उहाँले स्मरण गर्नुभयो । नख्खु जेलमा त्यतिबेला धेरै राजबन्दी एकै ठाउँमा भएपछि योजना बनेको र भौगोलिक रुपमा पनि वातावरणले साथ दिएको मगरले बताउनुभयो ।
“किसान पृष्ठभूमिका नेता लामा भलाद्मी र मेहनती हुनुहुन्थ्यो, उहाँका कारण तामाङ समुदायमा पार्टीको राम्रो छाप थियो” मगरले भन्नुभयो । तर राजनीतिक नेताहरुले वीरबहादुरको योगदानको उचित मूल्याङ्कन गर्न नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । पञ्चायती शासन विरुद्ध पर्चा पम्पलेट बाँड्ने बेलामा लामा पक्राउ परी काराबास जीवन भोग्नुभएको थियो । उहाँको आइतबार विहान ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

गाेरखापत्रअनलाइनबाटसाभार