मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो कार्यकालमा खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण बनाइने बताएका छन् । बकैया गाउँपालिका ११ सिमातमा आयोजित खुल्ला कराते प्रतियोगिता २०८१ लाई सम्बोधन गर्दै मन्त्री महर्जनले अन्तर्राष्ट्रिय जगतमा पहिचान स्थापित गराएका खेलाडीहरुको राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै आफ्नो कार्यकालमा खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण तयार पारिने र त्यसका लागि सबै तहका सरकारको सहयोग हुनुपर्नेमा जोड दिए ।
उनले आफु मन्त्री भएपछि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई कार्यविधि नै बनाएर नगद पुरस्कारसहित सम्मान गर्ने कार्यको सुरुवात गरिसकेको बताए । ‘म १२ वर्षदेखि खेलकुद क्षेत्रमा लागेको मान्छे, खेलाडीको मर्म, भावना बुझेर नै म खेलकुदमन्त्री भएको हुँ । राज्यले खेलकुद क्षेत्र र खेलाडीलाई प्राथमिकता दिन नसक्दा राम्रो सम्भावना बोकेका खेलाडीहरु विदेश पलायन भइरहेका छन् । म मन्त्री हुँदा बनिसकेको बजेट खेल क्षेत्र र खेलकुदमैत्री छैन । मौका पाएँ भने अबको बजेट इतिहासमा स्वर्ण अक्षरले लेखिने गरी बनाउँछु । खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउँछौँ ।’ उनले भने ।
उनले मकवानपुर खेलकुद क्षेत्रको इतिहास बोकेको ठाउँ भन्दै यहाँको खेलकुद क्षेत्रको विकासको लागि सक्दो पहल गर्ने र खेलाडीहरु राष्ट्रका गहना भएकाले अनुसासित भएर खेलकुद क्षेत्रमा अघि बढ्न सुझाव समेत दिए । सोमबार भएको प्रतियोगितामा ७ स्वर्ण सहित बकैया गाउँपालिकाको छतिवन कराते डोजो प्रथम हुँदै ट्रफी हातपार्न सफल भएको छ । छतिवनले ७ स्वर्ण सहित ५ रजत तथा १ कास्य पदक हात पारेको हो । त्यस्तै ७ स्वर्णसहित हात्तिसुँडे डोजो टिम दोस्रो हुन सफल भयो । दोस्रो भएको हात्तिसुँडेले ७ स्वर्ण सहित १ रजत ८ कास्य हात पार्यो भने ३ स्वर्ण पदक, ९ रजत पदक र ९ कास्य जित्दै सिमात डोजो टिम तेस्रो भएको हो । बकैया गाउँपालिका खेलकुद विकास समिति संयोजक विजय लामा थिङको अध्यक्षतामा भएको समारोहमा विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।