मकवानपुर । मकवानपुरको मनहरीमा पछिल्लो दुइदिन देखि आतंक मच्चाएको बाघलाई वन प्राविधिकको टोलीले नियन्त्रणमा लिएको छ । मनहरी गाउँपालिका ५ बसन्तपुरमा मान्छेलाई आक्रमण गरी मार्ने र बाख्रासमेत खाएर भागेको बाघलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार बिहान मारेको बाख्रा खान फर्किएको बाघलाई पर्सा बन्यजन्तु आरक्षणबाट खटीएको कर्मचारी, चितवन राष्ट्रिय निकुञ्जबाट खटीएको बाघ नियन्त्रण प्राबिधिक, निकुञ्ज शुरक्षार्थ खटीएको नेपाली सेना र ४ वटा हात्ती सहितको टोलीले डार्ट गरि बेहोस बनाएर नियन्त्रणमा लिएको हो । पुस १४ गते साँझ बारीमा घाँस काटिरहेकी कान्छीमाया रुम्बालाई घर छेवैमा आक्रमण गरि मारेको बाघले भोलिपल्ट बिहान सोही ठाउँमा अन्य ७ वटा बाख्रालाई खोरमै मारेको थियो ।

बाघले मारेको बाख्रा खान बाघ फर्कनसक्ने सम्भावित क्षेत्रतिर राई डार्ट टोलीले निगरानी गरिएको थियो । मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गरी डार्ट गरेर नियन्त्रणमा लिने योजनाका साथ हिजो दिउँसोदेखि टोली खटिएको थियो । सोही बमोजिम सोमबार साँझ बाघ आउने सम्भावित बाटोमा बाख्रा राखिएकोमा मंगलबार साँझ सोही बाटो भएर बाघ आएको र बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाढैबाट बन्दुकमार्फत गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाई डार्ट गर्ने गरिन्छ । डार्ट गरिएपछि शिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघलाई नियन्त्रणमा लिइएको र बेहोस् अबस्थाको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज कसरा लगिने बताइएको छ ।