मकवानपुर – स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै हेटौंडामा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल,मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनिहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, सरकार अत्ति गर, अत्याचार नगर मूल्यवृद्धि फिर्ता गर, स्थानीय तह निर्वाचन सार्ने गठबन्धन सरकारको निर्णयको प्रतिकार गरौ’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । सा क्रममा उनिहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्नुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेका थिए ।
पाँच दलीय गठबन्धन सरकारले स्थानीय तह निर्वाचन सार्ने तयारी गरिरहेको अवस्थामा देशभर विरोध प्रदर्शनको कार्यक्रम सुरु भएको छ । प्रदर्शनपश्चात् बुद्धचोकमा भएको कोणसभामा युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यद्वय आरती पाठक, दिलु घर्ती, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती तथा नगर अध्यक्ष राजेश नगरकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।