मकवानपुर – मकवानपुरमा लामो समय मजदुर र महिलाको पक्षमा वकालत गर्नु भएकी मकवानपुरे नेतृ गोमादेवी तिमल्सिना राष्ट्रियसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । हेटौंडामा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा विजयीहुँदै उहाँ देशको सवैभन्दा माथिल्लो सदनमा पुग्नु भएको हो ।
लामो समय नेकपा एमालेमा रहेर संघर्ष गर्नुभएकी तिमल्सिना पार्टीको आन्तरिक विवादका कारण सधैं छायाँमा पर्ने गर्नुहुन्थ्यो । पार्टी विभाजन भएसँगै नेकपा (एकीकृत समाजवादी) रोज्नु भएकी उहाँले लामो समयको संघर्षपश्चात् नीति निर्माण गर्ने स्थानसम्म पुग्ने अवसर प्राप्त गर्नुभएको छ ।
हेटौंडा–९, सिमेन्टरोड घर भएकी तिमल्सिनाको जन्म २०१२ माघ ९ गते मामाघर गोरखामा भएको थियो । उहाँको माइतीघर चैं तनहुँको बन्दीपुर हो । चितवन, गीतानगरमा घरजम भए पनि चितवनमा सोधिने ‘पहाडघर’ तिमिल्सिना दम्पतीको लमजुङ हो । २०३७ सालदेखि मजदुर फाँटबाट राजनीतिमा प्रवेश गर्नु भएकी तिमल्सिना चितवनबाटै पार्टी राजनीतिमा जोडिनु भएको हो । उहाँलाई मकवानपुरेले मजदूर र महिला अन्दोलनको एक धरोहरका रुपमा लिने गरेका छन् ।
उहाँ हेटौंडा कपडा उद्योगमा कार्यरत्हुँदै राजनीतिमा आउनु भएको थियो । उहाँले कपडा उद्योगमा २२ वर्ष आफ्ना जवानीका उर्वर समयहरु खियाएर परिवारको गुजारा चलाउनु भएको थियो । २०५४ मै टेक्सटाइल गार्मेन्ट मजदुरको संगठनमा केन्द्रीय उपाध्यक्ष हुनु भएकी तिमल्सिना तीनपटक राष्ट्रिय परिषद सदस्य हुनुभयो ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसँगै तिमल्सिनाले नीति निर्माण र मजदुरको पक्षमा उभिने बताउनुभएको छ । ‘हामीले परिवर्तनका लागि राजनीति गरेका थियौं । संघीयताको संस्थागत विकास र परिवर्तनको पक्षमा काम गर्नेछु ।’, उहाँले भन्नुभयो, ‘नीति निर्माणको क्रममा हरेक बहसमा सहभागी हुनेछु ।’ उहाँले वर्तमान समयमा राजीतिमा देखापरेको विकृती हटाउन सक्रिय हुने बताउनुभयो ।