मकवानपुर– बागमती प्रदेशकी प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले सृष्टिको होईन दृष्टिको दोसका कारण समाजमा अझै पनि महिला र पुरुष बिचमा विभेद रहेको बताउनुभएको छ । ११० औ अन्तराष्ट्रिय महिला दिवशका अवसरमा सृजनशिल नेपाल र नारिशिप सृजना केन्द्रको आयोजनामा सरोकारवालासंगको अन्तरकृया कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले महिला र पुरुष बिचको विभेद सृष्टिको कारण नभएर दृष्टिका कारण कायम रहेकाले त्यसलाई परिर्वतन गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा महिलाका सन्र्दभमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले थुप्रै कामहरु गरेको भन्दै प्राप्त उपलब्धीलाई संरक्षण गर्दै आगामी योजनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो । महिलाकै कारण पनि कतिपय स्थानमा विभेद हुने गरेको भन्दै सकारात्मक भएर विभेद अन्त्य गर्न तर्फ लाग्न सबैलाई सांसद श्रेष्ठले आग्रह गर्नुभयो । समानताको सुरुवात आँफैबाट सुरु गर्नुपर्ने सांसद श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले महिला सम्बन्धी प्राप्त अधिकारलाइृ संस्थागत गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले प्राप्त गरेका अधिकारलाइृ कसरी प्रयोग गछौं भन्ने कुरा पनि महत्वपुर्ण रहेको भन्दै अधिकारसंगै कर्तव्यको समेत ख्याल पुर्याउनु पर्ने बताउनुभयो । एक फरक प्रशंगमा खुलालले विश्वको जल्दोबल्दो समस्याका रुपमा रहेको नोवेल कोरोना भाईरस प्रति सचेत हुँदै उक्त भाईरसको सामना गर्न अनुरोध समेत गर्नुभयो । उहाँले कोरोना भाईसरका बारेमा नआतिन तथा सचेत रहन भने आग्रह गर्नुभयो ।

सृजनशिल नेपालकी अध्यक्ष शान्ता बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, नारी सिप सिर्जना केन्द्रकी अध्यक्ष सरस्वती बर्तोला, हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीम प्रसाद तिमलसीना, ४ नम्बर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ईश्वरी प्रसाद भण्डारी, सेलर्ड मकवानपुरका जग्गनाथ सुवेदी, अधिवक्ता प्रमीला केसीलगायत विभिन्न संस्थामा आबद्ध महिला प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत चन्द्रकला ब्यञ्जनकारले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।