मकवानपुृर । सहकारीमार्फत उद्यम गर्ने सहकारी सदस्यहरुको व्यवसायको प्रबद्र्धन गर्ने उदेश्यका साथ आजबाट मकवानपुरमा प्रदर्शनी तथा बिक्री मेला सुरु भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा हेटौंडामा आजबाट तीन दिने प्रदर्शनी तथा बिक्री मेला सुरु भएको हो ।

सहकारीका सदस्यलाई प्रोत्साहन गर्ने, सहकारीका व्यवसायी सदस्यको व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजित मेलाको मंगलबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्नुहुँदै उहाँले सहकारीको माध्यमबाट नेपालमा थुप्रै अर्थिक कृयाकलापहरु संचालन भएको र त्यसले देशकै आर्थिक समृद्धिमा टेवा पुगेको बताउनुभयो ।

सहकारीले आफ्ना सदस्यहरुको व्यवसाय प्रबद्र्धन गर्ने उदेश्यका साथ आयोजना गरेको यस्ता कार्यक्रमले सहकारीको गुणस्तर र विश्वसनीयतामा समेत टेवा पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेशका उद्योग मन्त्री सुकुमाया तामाङले यस्ता प्रदर्शनी र मेलाले उद्यमीहरूलाई उत्साह प्रदान गर्ने बताउनुभयो ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको अवसरमा ‘उत्पादन बजारीकरण तथा लगानीको आधार, उद्यम प्रवद्र्धन हाम्रो पूर्वाधार’ भन्ने मुल नाराका साथ मेला सुरु भएको हो । मेलाबाट सहकारीले गर्दै आएको कामले थप बजार पाउने विश्वास लिएको संस्थाका अध्यक्ष अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो ।
मकवानपुरमा रहेका सहकारीबाट उत्पादित सामग्रीको मेलामा कृषि सहकारीहरूले समेत उत्पादन गरेका हस्तकला, खाद्य, मसला, दुग्धजन्य सामग्री सहितका ४३ स्टल राखिएका छन् । मेला १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । सोही अवसरमा संस्थाको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो । हेटौंडा–२ मा सहकारी संघले करिब २ कठ्ठा क्षेत्रफल रहेको जमिनमा ३ करोडको लागतमा भवन निर्माण गरेको छ । यो भवन निर्माण गर्न प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाखभन्दा बढी र संघको जगेडा कोषबाट बजेटको व्यवस्था गरिएको जनाईएको छ ।