मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सिमानाकाहरुमा अत्याधुनिक चेकपोस्ट निर्माण गर्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशबिन्दु हेटौंडा–१५, रातोमाटे र सिन्धुलीको भिमानमा चेकपोस्ट निर्माण गर्ने भएको हो ।

चेकपोष्ट निर्माण गर्ने सन्दर्भमा शुक्रबार प्रदेशका मुख्यमन्त्री बाहादुर सिंह लामाले हेटौंडा–१५, स्थित रातोमाटेमा स्थलगत अनुगमन तथा छलफल समेत गर्नुभएको छ । सो क्रममा उहाँले आन्तरिक सुरक्षा बलियो बनाउने उद्देश्यकासाथ प्रदेश सरकारले चेकपोस्ट निर्माण गर्न लागेको भन्दै स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माण गरिने बताउनुभयो ।
प्रदेश सरकारले चेकजाँच बढाउने, शान्तिसुरक्षा तथा राजस्व चुहावटसमेत रोक्ने उदेश्यका साथ प्रदेशका ७ वटै सिमानाकाहरुमा चेकपोष्ट निर्माण गर्ने तयारी गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा हेटौंडा र सिन्धुलीमा, दोस्रो चरणमा चितवनको नारायणगढ मुग्लिनमा, तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा चेकपोस्ट निर्माण गर्न लागिएको हो । चेकपोस्टमा सवारीसाधानको जाँचका लागि स्क्यानरसहितको अत्याधुनिक मेसिन, सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने सरकारको योजना रहेको छ । जग्गा प्राप्ती, आईई, डिपिआरसहित चेकपोस्ट निर्माणकाे काम सम्पन्न गर्न करीब दुई वर्ष लाग्ने समेत सचिव दर्जीले बताउनुभयो ।