पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् । पाँचथरमा ९३, ताप्लेजुङमा ८० र संखुवासभामा १७ परिवार विस्थापित भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कडेलले जानकारी दिनुभयो ।
बाढी पहिरोले पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र संखुवासभा बढी प्रभावित छन् । भोजपुर र इलाममा पनि क्षति भएको छ । बाढी पहिरोमा परेर अहिलेसम्म नाै जनाको ज्यान गएको पुष्टि भएको छ । पाँचथर र ताप्लेजुङमा तीन/तीन जना तथा संखुवासभामा दुई र भोजपुरमा एक जनाको ज्यान गएको एसपी ऋषिराम कडेलले जानकारी दिनुभयो । बाढी पहिरोमा परेर घाइते घएका सात जनामध्ये चार जना डिस्चार्ज भएका छन् भने तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बाढी पहिरोमा परेर बेपत्ता भएका २७ जनाको अवस्था भने अझै पत्ता लागेको छैन । बाढी पहिरोमा संखुवासभाका २१, पाँचथर र ताप्लेजुङका तीन/तीन जना बेपत्ता भएका हुन् । त्यस्तै, बाढी पहिरोबाट ४३ वटा घरमा नोक्सानी भएको छ । संखुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका छ र इलामका तीन वटा घरमा नोक्सानी भएको प्रहरीले जनाएको छ । यस्तै, १२ वटा पक्की र १८ वटा कच्ची गरी ३० वटा पुलमा पनि क्षति भएको छ । पाँचथरका १५, ताप्लेजुङका नाै, संखुवासभाका छ वटा पुलमा क्षति भएको हो । त्यस्तै, पाँचथरका सात, ताप्लेजुङका चार, संखुवासभाका तीन र इलामको एक गरी १५ वटा सडक अवरुद्ध भएका छन् । अवरुद्ध भएकामध्ये केही सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १६ वटा हाइड्रोपावर (पाँचथरका ६, संखुवासभाका ८ र ताप्लेजुङका २ ) मा पनि नोक्सानी भएको छ ।