मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनः निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज ११ र १२ गतेको अविरल वर्षाको कारण क्षति भएका प्रादेशिक सडकमार्ग तथा पूर्वाधार पूनःनिर्माणका लागि १५ करोड २५ लाख रकम उपलब्ध गराउने निर्णय हो ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार विपद् प्रभावित हेटौँडा–काठमाडौं सडकका लागि ११ करोड २५ लाख, र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय गरेको हो । मन्त्री लामिछानेले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको समेत बताउनुभयो ।
त्यस्तै बैठकले प्रदेश स्तरबाट ११औं तहमा बढुवा हुनुभएका निरन्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ । भने, संघीय सरकारबाट सरुवा भएर आउनुभएका सचिव वीरेन्द्र देव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो ।