हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका र चितवनको पुष्पाञ्जली हस्पिटल प्रालिबीच उपचार सहुलियत करारनामा सम्झौता भएको छ । शुक्रबार बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र पुष्पाञ्जली हस्पिटल प्रालिका प्रवन्ध निर्देशक सुजनराज अधिकारीले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।
बकैयाबासीलाई स्वास्थ्य परीक्षण तथा उपचार गर्दा हस्पिटलबाट प्रवाह हुने सेवामा २५ प्रतिशत्सम्म छुट सुविधा दिने, अस्पतालको सेवा जस्तैः बेडचार्ज, ल्याव टेस्ट, ईसीजी, इको, भिडिओ एक्सरे, एक्सरे, सिटीस्क्यानलगायतमा २५ प्रतिशत्, अपरेसन र क्याबिनमा १५ प्रतिशत् छुट र औषधीमा ७ प्रतिशत्सम्म छुट दिनेगरि सम्झौता भएको छ ।
पालिकाका जनताको स्वास्थ्य उपचार सहुलियतका लागि अध्यक्ष लामिछानेले उक्त कार्य गर्न आफू लागिपरेको बताउनुभयो । अध्यक्ष लामिछानेले स्थानीय तहमा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न कार्य गर्दै आउनु भएको छ । सम्झौताका क्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकामा रहेका अतिविपन्न, गरिब, असहायका लागि निःशुल्क उपचार गर्न आग्रह गर्नुभयो । सम्झौताका क्रममा पुष्पाञ्जली हस्पिटल सामाजिक सेवा एकाई प्रमुख केदारप्रसाद सुबेदी, बकया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, गाउँपालिका सामाजिक विकास महाशाखा प्रमुख फटिकरमण प्याकुरेल, स्वास्थ्य संयोजक रमेश फुयाँललगायतको सहभागिता थियो ।