मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आईतबार हेटौंडा औद्योगिक क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएको छ । कृषि औजार कारखाना र रासायनिक मल उद्योग स्थापना गर्न जग्गा खोजी गर्ने सिलसिलामा मुख्यमन्त्री पाण्डेले हेटौंडा औद्योगिक क्षेत्रको निरिक्षण गर्नुका साथै आवश्यक जानकारी लिनुभएको हो ।
प्रदेश सरकारले बजेटमा नै कृषि औजार कारखाना सञ्चालन गर्ने र वैदेशीक सहयोगमा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरेको थियो । उक्त उद्योग खोल्नका लागि आवश्यक जग्गाको विषयमा बुझ्न मुख्यमन्त्री पाण्डेले हेटौंडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग र वनस्पति घ्यू उद्योगको निरीक्षण गर्नुहुँदै तत्काल कृषि औजार उत्पादन गर्ने कारखाना सञ्चालन गर्न आवश्यक जग्गा उपलब्ध गराइदिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई आग्रह गर्नुभयो । उहाँले औद्योगिक क्षेत्रको सडक, वर्तमान अवस्थाको विषयमा व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कडेँलसँग जानकारी लिनुभएको थियो ।
औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कडेँले त्यहाँको वर्तमान अवस्थाबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउनु भएको थियो । उहाँले औद्योगिक क्षेत्रमा हाल १ सय १० वटा उद्योग सञ्चालित रहेको साथै हाल औद्योगिक क्षेत्रको सवै जग्गा प्रयोगमा रहेको जानकारी गराउनुभयाे । उहाँले औद्योगिक क्षेत्रमा जग्गा ओगट्ने कम्पनीलाई बोलाएर उद्योग स्थापना कार्य अगाडि बढाउन आफूले निर्देशन दिएको समेत जानकारी गराउनुभयो । यसअघि शनिबार मुख्यमन्त्री पाण्डेले चितवनको कालिका नगरपालिका स्थित प्रस्तावित शक्तिखोर औद्यागिक क्षेत्रहरुको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।