मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आईतबार प्रदेश राजधानी हेटौंडा स्थित रातोमाटे–चौकिटोल बाईपास सडकको अनुगमन गर्नुभएको छ । समयमै सडक निर्माण नहुँदा हेटौंडा बजार क्षेत्रमा सवारी चाँप बढेकाले मुख्यमन्त्री पाण्डेले सडक निर्माणका विषयमा चासो लिनुभएको हो ।
तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले हेटौंडा बजार बाहीरबाट बाइपास सडक निर्माण गर्न बजेट छुट्याएर काम सुरु गरेको हो । बाइपास सडक निर्माणका लागि प्रदेश सरकारले वर्षेनी लगानी गरेको भए पनि ठुला तथा भारी सवारीका साधन उक्त सडक भएर गुड्न नसक्दा हेटौंडाको मुख्य बजारमा सवारी चाँप बढ्ेर ट्राफिक जाम हुने गरेको छ । प्रदेश सरकारले उक्त सडक निर्माण गर्न वर्षेनी लगानी गरेको भए पनि उपलब्धी भने शुन्य जस्तै भएको छ ।
अनुगमनका क्रममा मुख्यमन्त्री पाण्डेले सडक निर्माण गर्नका सन्दर्भमा देखा परेका समस्याहरु र उक्त समस्या समाधानका लागि प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्ने पहलकदमीका सम्बन्धमा सरोकारवालाहरुसंग छलफल गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले बाइपास सडकको रेखाकंन तथा उक्त रेखाकंन अनुसार सडक निर्माण गर्दा अपनाउनु पर्ने सावधानीका सम्बन्धमा छलफल गर्नुहुँदै सम्बन्धित कार्यालयका प्रमुखहरुलाई निर्देशन समेत दिनुभयो ।