मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषदले आयोजना गर्न लागेको प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी दु्रतगतिमा अगाडी बढाईएको छ । आगामी चैत २५ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी करीब अन्तिम चरणमा पुगेको खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

सातै प्रदेशका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउने, विभिन्न प्रदेशका खेलाडीहरुको पहिचान गर्न, खेलाडीहरुको खेल कौशलताको अभृवृद्धि गर्न र प्रदेशका खेलाडीहरुबीच भातृत्व कायम गराउन आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घाटन लगात सम्पूर्ण खेल चितवनमा र पुरुष फुटबल तथा समापन कार्यक्रम मकवानपुरमा हुने भण्डारीले बताउनुभयो । चितवनको गौतम बुद्ध क्रिकेट रंगशालमा सुरु हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुनेछ भने समापन हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने सदस्यसचिव भण्डारीले बताउनुभयो ।

सदस्यसचिव भण्डारीका अनुसार दुवै स्थानमा मैदानको तयारीलगायतका काम अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सञ्चालनकै लागि बिहीबार बसेको प्रदेश खेलकुद विकास परिषदको १७ औँ बोर्ड बैठकले प्रदेश टिमको तयारीका विषयमा छलफल गर्नुका साथै विभिन्न उपसमितिको संयोजक समेत तोकेको उहाँले बताउनुभयो । बैठकले प्रचारप्रसार, स्वास्थ्य, पुरस्कार तथा खेल सामग्री व्यवस्थापन, खेलस्थल व्यवस्थापन, अनुशासन, प्राविधिक खेलकुद समन्वय, बसोबास तथा यातायातलगायत समिति निर्माण गरेर संयोजक तोकेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा महिला÷पुरुष तेक्वान्दो, कराँते, बक्सिङ, क्रिकेट, भलिबल, फुटबल, एथ्लेटिक्स र पौडी गरि ९ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता तथा तालिम शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिनुभयो । प्रतियोगितामा १४६ वटा स्वर्ण पदकको लागि ७ प्रदेशबाट करीब १ हजार ८ सय खेलाडि र प्रशिक्षक सहभागि हुने तथा प्रतियोगिताका लागि करीब ५ सय निर्णयक (रेफ्रि) को सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता टिमले क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, बेष्ट प्लेयरले १० हजार रुपैया प्राप्त गर्ने दुलालले बताउनुभयो । प्रतियोगिता संचालनका लागि करीब १२ करोड लागत अनुमान गरिएकोमा प्रदेश सरकारले ६ करोड बजेट विनियोजन गरेको छ ।