मकवानपुर । बाराको जीतपुर सिमरा उपमहानगरापालिका–१५ डुमरवाना स्थित गलैचा उद्योगबाट ८ जना बालश्रमिकहरुको उद्धार गरिएको छ । डुमरबाना स्थित सुष्मा गलैंचा उद्योगबाट १७ वर्ष मुनीका ३ जाना बालिका र ५ जना बालकलाई उद्धार गरिएको हो ।
श्रम तथा रोजगार कार्यालय वीरगंज, जीतपुर सिमरा उपमहानगरपालिका र सिविन नेपाल मकवानपुरको टोलिले शुक्रबार बालश्रमिकहरुलाई उद्धार गरि बालहेल्पलाइन हेटौडाको आवासमा ल्याइएको सिविन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । संयोजक ज्ञवालीका अनुसार उद्धार गरिएका मध्ये मकवानपुरको राक्सिराङ् गाउँपालिका ३ जना र बाराको निजगढ नगरपालिकाका ५ जना रहेका छन् । राक्सिराङ् गाउँपालिकाका सोम बहादुर बुलनले आफ्नो १४ वर्षिय छोरालाइ गलैंचा कारखानाबाट उद्धार गरिदिन बालहेल्पलाइनमा निवेदन दिए पश्चात उनिहरुलाई उद्धार गरिएको उहाँले बताउनुभयो ।
संयोजक ज्ञवालीका अनुसार निवेदन पश्चात अनुगमनका क्रममा बालबालिकाहरुलाई ठेकेदार मार्फत काममा लगाइएको, नेपाल सरकारले तोके बमोजिमको तलव नदिइएको, दिनमा १६ घण्टासम्म काम लगाइएको, कार्यस्थलबाट बाहिर आवतजावत गर्न प्रतिवन्ध गरेको, बालबालिकाहरुको खानपान बसाइ अति निकृष्ट प्रकारको रहेको, चरम श्रमशोषण भएको, आफुले भने अनुसार काम नगर्ने बालबालिकाहरुलाई यातना समेत दिने गरेको पाईएको छ ।
उद्धार गरिएका बालबालिकाहरुसंग सोधपुछ तथा परामर्शको काम भइरहेको साथै बालबालिकाका अभिभाकहरुलाई सम्पर्कमा ल्याउन प्रयत्न भइरहेको र घटनालाइ कानुनी प्रकृयामा लैजान श्रम तथा रोजगार कार्यालयमा बालबालिकासहित अभिभावकलाइ उपस्थितिको लागि पहल गरिने संयोजक ज्ञवालीले बताउनुभयो ।
अनुगमन टोलीमा श्रम तथा रोजगार कार्यालय वीरगंजका कार्यालय प्रमुख बलराम कुशवाह, जीतपुर सिमरा उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रमेश सुवेदी, रोजगार संयोजक मोहमद नसिमुलगनी, नगर प्रहरी सहायक निरीक्षक रविन कुमार खड्का, सिविन बालहेल्पलाइन मकवानपुरका कार्यक्रम अधिकृत सम्झना अधिकारीलगायत रहनुभएको थियो ।