हेटौंडा । नेपाली कांग्रेसका नेता बहादुर सिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादव शर्माले नियुक्ति गर्नुभयो ।
२०२७ साल कात्तिक ८ गते नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिनुभएका उहा तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हो । बागमतीमा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्ने पनि उहाँ पहिलो हो । लामाले गाउँकै विद्यालयबाट निमावि, सदरमुकाम बिदुरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हासिल गर्नुभएको छ ।
२०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्यता लिनु भएका उहाँले नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नुवाकोटमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै काङ्ग्रेस राजनीतिमा अगाडि बढनुभयो ।
लामा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँ कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित हुनु भयो, भने त्यसपछि १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।
०६४ सालमा नुवाकोट क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा पराजित हुनु भएका उहाँ २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी नेता पोष्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । २०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका लामा शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिनु हुन्छ ।
लामा बागमती प्रदेश संसदीय दलको चुनावमा इन्द्रबहादुर बानियाँलाई पराजित गरेर दलको नेता निर्वाचित हुनुभयो । २६ चैत २०८० मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका उहाँ छोटो समयमै मुख्यमन्त्री बनेर सरकारमा फर्किनु भयो ।
२०७४ माघबाट हालसम्म बागमतीमा चार मुख्यमन्त्री भइसकेका छन् । कांग्रेसले भने एकपटक पनि सरकारको नेतृत्व गर्न पाएको थिएन । केन्द्रमा गठबन्धन फेर बदल हुँदासमेत बागमतीमा कांग्रेस सत्ताको नेतृत्वबाट बिमुख रह्यो ।
२८ माघ २०७४ मा डोरमणि पौडेल बागमतीको पहिलो मुख्यमन्त्री बन्नुभयो । पौडेल मुख्यमन्त्री रहेकै बेला नेकपामा विवाद उत्पन्न भयो । २ भदौ २०७८ पौडेलले राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभयो।
एमाले विभाजित भएपछि १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजे । सरकार अल्पमतमा परेसँगै १० कात्तिक २०७८ मा राजीनामा दिनुभयो ।
केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलको गठबन्धन बन्यो । ११ कात्तिक २०७८ मा एकीकृत समाजवादीका दलका नेता राजेन्द्र पाण्डे ४ दलको समर्थनमा मुख्यमन्त्री बन्नुभयो ।
२०७९ मंसिरमा भएको चुनावलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग तालमेलमा नयाँ सरकार बनाएसँगै बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त हुनुभयो ।
संसदको पहिलो दल भएर पनि कांग्रेस सत्ता नेतृत्वमा पुग्न सकेन । तर यही असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमतिपछि पहिलो पटक कांग्रेस बागमतीको नेतृत्वमा पुगेको हो । जसको अवसर लामाले पाउनुभयो ।