मकवानपुर– सामाजिक व्यवहार सुधार तथा पूर्ण सरसफाई युक्त जिल्ला घोषणा सम्बन्धी अन्तरकृया सोमबार हेटौंडामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सामाजिक परिचालक एवम् सरोकारवालाको उपस्थितीमा अन्तरकृया गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामाजिक व्यवहार सुधारको खाँचो रहेको बताउनुभयो । उहाँले समाज नकारात्मक्ता तिर अग्रसर भईरहेको अहिलेको अवस्थामा सामाजिक व्यवहारमा सुधार गर्दै समुदायलाई सकारात्मक बनाउनु पर्ने बताउनुभयो । उहाँले समुन्नत समाज निर्माण र सुखि नेपाली समृद्ध नेपाल निर्माणका लागि सामाजिक व्यवहारमा सुधारको खाँचो रहेको भन्दै यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । अन्य विकास संगै समाजिक क्षेत्रको विकासलाई पनी तीनै तहको सरकारले प्राथमिक्ता दिनुपर्ने उहाँको भनाई थियो । उहाँले जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणाका लागि पनि सामाजिक व्यवहारमा सुधार हुनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीलगायत स्थानीय तहका उपप्रमुखहरु, सामाजिक परिचालक तथा सरोकारवालाको उपस्थिती थियो । कार्यक्रममा विज्ञका रुपमा डा कृष्ण धितालले सहजिकरण गर्नुभएको थियो ।
