मकवानपुर– मकवानपुर प्रहरीले सोमबार जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने ६८ सवारी र मास्क नलगाउने २३ जनालाई कारबाही गरेको छ । कोभिड–१९ को संक्रमण जोखिम बढिरहेको भन्दै स्थानीय प्रशासनले सजगता अपनाउन गरेको आग्रहलाई अस्वीकार गरेको पाइएपछि उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रशासनले बजारमा हुने भीडभाड नियन्त्रण गर्न, मास्क प्रयोगलाई अनिवार्य गर्न र आइतबारदेखि लागु हुने गरी सवारीमा जोर बिजोर प्रणाली लागु गरेको थियो । नियम पालना भए नभएको निगरानी गर्ने क्रममा सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले नियम नमान्नेलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको हेटौंडा बजार क्षेत्रमा जोर बिजोर प्रणली उल्लङ्घन गर्ने ५५ वटा मोटरसाईकल, ७ वटा अटो, ५ वटा म्याजिक र १ वटा मयुरीलाई जरीवाना गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । साथै, बजारमा हिँड्दा मास्क नलगाउने २३ जनालाई पनि जरीवाना गरीएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सबैलाई एक सय रुपैयाँका दरले जरिवाना गरिएको हो ।