मकवानपुर । हेटौँडा उपमहानगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिदैछ । हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिशेष समारोहको आयोजना गरेर निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्ततथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न लागिएको हो ।
मकवानपुर जिल्लाको चौथो स्थानीय तहका रुपमा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री शासनयुक्त उपमहानगरपालिका घोषणा गर्न लागिएको छ । मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । हेटौंडा उपमहानगर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणासँगै मकवानपुरको चौथो बालमैत्री स्थानीय शासनयुक्त पालिका हुनेछ ।
२०७९ साल भदौ २४ गते हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा अभियान अन्तर्गत १९ वटै वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेर आज उपमहानगरलाई नै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न लागिएको हो । जसअन्तरगत हेटौंडाका १९ मध्ये वडा नम्बर ८ पहिलो र वडा नम्बर १४ लाई अन्तिम बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो । घोषणा कार्यक्रम नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ ।
बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा
बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागेको जानकारी दिनुभयो । ४३ वटा सूचकको लक्ष्य शत प्रतिशत पूरा भएको उहाँले बताउनुभयो । ४ सूचकमा ९९ प्रतिशतभन्दा बढी नतिजा हासिल भएको छ । यस्तै, ३ वटा सूचकमा ९० प्रतिशतभन्दा बढी र एउटा सूचकमा ८८ प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री घोषणा गर्न लागिएको जनाईएको छ ।
२०७९ सालको घरधुरी तथ्यांक संकलन सर्वेक्षणअनुसार हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका ५० हजार एक सय ९५ बालबालिका छन् । २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् । उपमहानगरपालिकामा टोलस्तरीय २ सय ६५ र विद्यालयस्तरीय १ सय ६ वटा गरी ३ सय ७१ वटा बाल समूह छन् भने १९ वडास्तरीय र एउटा नगरस्तरीय गरी २० वटा बाल सञ्जाल छन् । बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारासहित निकृष्ट बालश्रममुक्त, बालविबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागिएको हो ।
उपमहानगरपालिकाको सम्पूर्ण सेवा बन्द
हेटौँडालाई बालमैत्री घोषणा गर्न लागिएको हुँदा उपमहानगरपालिका कार्यालय र मातहतका कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा आजका लागि बन्द गरिएको छ । हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम आयोजना गरिएकाले आज कार्यालयले प्रदान गर्दै आएको सेवा प्रवाह सुचारु नहुने हेटौँडा उपमहानगरपालिका कार्यालयले जनाएको छ । बिहीबार हेटौँडा उपमहानगरपालिकासँगै उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरूबाट नियमित प्रवाह हुने सेवा र शैक्षिक संस्थाहरूको पठन पाठन समेत बन्द गरिएको हो ।
हेटौँडा उपमहानगरपालिकाले सूचना प्रकाशित गर्दै उपमहानगरपालिसहित अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरूमा कार्यरत सबै कर्मचारीहरू बालमैत्री घोषणा कार्यक्रममा सहभागी हुने भएकोले उक्त निकायहरूबाट नियमित प्रवाह हुने सेवा र शैक्षिक संस्थाको पठन पाठन समेत सुचारु नहुने जनाएको छ ।