हेटौंडा । आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा “रेडियो र जलवायु परिवर्तन” तय गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रूत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम पनि हो । रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ । रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।