हेटौंडा । हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सेमिफाईनल समिकरण पुरा भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा आज भएको अन्तिम क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपीएफले थ्रीस्टार क्लबलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

अन्तिम क्वार्टरफाइनलमा आज एपीएफले थ्रीस्टारमाथि ४–० गोलअन्तरको जीत निकालेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा एपीएफका तर्फबाट विदेशी खेलाडी एनिसेट, सर्ज सङ, अनिष महर्जन र प्रदीप लामाले एक÷एक गोल गरेका थिए । एपीएफले खेलको पहिलो हाफको अतिरिक्त समय (४६औ)ं मिनेटमा एनिसेटको फ्रिकिक मार्फत गोल गर्दै अग्रता लिएको थियो ।
त्यसपछि खेलको दोस्रो हाफको ४औं मिनेटमा एपीफएफका अनिष महर्जनले अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा एपीफएफका लागि प्रदीप लामाले गोल गरे । भने खेलको ७७ मिनेटमा विदेशी खेलाडी सर्ज सङले चौथो गोल गर्दै ४–० को जित निकाल्यो । खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । सेमिफाइनलमा एपीएफले अब बागमती युवा क्लब सर्लाहीसँग बिहीबार खेल्ने छ ।
प्रतियोगितामा भोली पहिलो सेमिफाईनल खेल न्यूरोड टिम एनआरटी र राजारानी क्लव धनकुटाबीच हुने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।