मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका–७, मा भिरबाट लडेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाश–७, चाइरङ डाँडामा भिरबाट लडेर स्थानीय ५० वर्षीय आइतराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । घर जादै गरेका उनी गोरेटो बाटोबाट चिप्लिएर भिरबाट २०० मिटर तल खसेर गम्भीर घाइते भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको भण्डारीले जानकारी दिनुभयो ।
यसैबीच हेटौंडा–६ स्थित गौरीटार बहुउदेश्य रंगशालामामा जारी छैठौं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा दर्शकको ईट्टा प्रहारबाट एकजना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा–१५ रातोमाटेका ४४ बर्षीय टिकाराम तामाङ रहेका छन् । उनलाई हेटौंडामा प्राथमिक उपचार पछि थप उपचारका लागि चितवन पठाइएको भण्डारीले जानकारी दिनुभयो ।
फुटबल खेलका लागि निर्धारण गरिएको पार्किङको विषयमा विवाद हुँदा तामाङलाई दर्शकले ईट्टा प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।