मकवानपुर । हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब पराजित भएको छ । आहा रारा गोल्ड कप बिजेता टोली आर्मीलाई राजारानी क्लब धनकुटाले सडनडेथमा ५–४ गोलअन्तर पराजित गरेको हो ।

हेटौंडा–६, स्थित गौरीटार बहुउदेश्य रंगशालामा जारी प्रतियोगिताको निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरीमा टुङ्गिएपछि खोल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि दुवै टोलीले बराबरी गरेपछि खेलको निर्णय सडनडेथबाट लिईएको थियो ।

खेलको ११औं मिनेटमा आर्मीको तर्फबाट रसबहादुर मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ८४औं मिनेटमा धनकुटाका तर्फबाट विदेशी खेलाडी अजायी मार्टिनले गोल गर्दै खेल ट्राइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा धनकुटाका तर्फबाट विशाल घलान, रुपेश केसी, दीप कार्कीले गोल गरेका थिए । भने, सुनिल खड्का र अशोक खवासले गोल गर्न सकेनन् । यता आर्मीको तर्फबाट जितेन्द्र कार्की, कमल थापा र रसबहादुर मगरले गोल गर्दा बसन्त जिम्बा र श्रीराम चौधरीले गोल गर्न सकेनन् ।

ट्राइब्रेकरमा ३–३ गोल भएपछि सडनडेथमा राजारानीका प्रवेश दनुवार र उमेश कार्कीले गोल गरेका थिए । आर्मीका विमल पाण्डेले सडन डेथमा गोल गर्दा सिद्धान्त चौधरीको प्रहार धनकुटाका गोलरक्षक दीप कार्कीले बचाएका थिए । कार्की खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा धनकुटाले अब न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत् मंगलबार भोली थ्रीस्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आगामी माघ २७ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाईएको छ ।
