नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ । आज थप ३ हजार १ सय ४० जना संक्रमण मुक्त भएसंगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको र निको हुने दर ९२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले बताउनुभयो ।
यसैगरी आज थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ९ हजार २ सय १० वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा १ हजार १ सय ७४ जना पुरुष तथा ७ सय ७४ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
आज देशभर गरी १६ हजार ६ सय ३९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १० हजार १ सय ८४ जना होम आइसोलेसन तथा बाँकी ६ हजार ४ सय ५५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरमा रहेका छन् । गम्भीर लक्षण देखिएका ३ सय ४५ जना संक्रमितको आईसियू तथा ६३ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।