मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा आगामी बैशाख ९ गते बाट हेटौंडामा प्रथम अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले आगामी बैशाख ९ गतेबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहको सहागिता रहेकन उहाँले बताउनुभयो । खेकुदकाे विकास तथा खेलाडि उत्पादन गर्ने उदेश्यका साथ गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतियोगिताको सम्पुर्ण तयारी भइसकेको र कोरोनाबाट बच्ने सम्पूर्ण मापदण्डहरु अपनाएर प्रतियोगिता संचालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको उद्धाटन खेलमा इन्द्रसरोबर गाउँपालिका र बागमती गाउँपालिका बिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको उपाधी विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, बागमती प्रदेश पत्रकार महासंघका निर्वतमान अध्यक्ष प्रताप बिष्टलगायत पत्रकारहरुको सहभागिता थियो ।