file photo

आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुसारको चुनाव चिह्न छपाइ भयो कि भएन भनी यकिन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोथिमिमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड गइ मतपत्र मुद्रण मेशिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिनुभयो । मतपत्र छपाइ भन्दा अघि मेशिनको परीक्षण गरिएको छ ।
आउँदो स्थानीय तह चुनावका लागि झन्डै दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता सङ्ख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ ।
काठमाण्डौ उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ ।