मकवानपुर– हेटौंडा उपमहानगरपालिकामा आज अपाङ्गता भएका २६ जना नागरिकहरुलाई ह्वील चियर र ट्राइसाइकल वितरण गरिएको छ । अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजना तथा अपाङ्ग पुनस्र्थापना समाजको सहयोगमा २४ वटा ह्वील चियर र २ वटा ट्राइसाइकल वितरण गरिएको हो ।

अपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष दिलबहादुर स्याङ्बोको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले ह्वील चियर र ट्राइसाइकल वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर महतले आगामी वर्षमा पनि उपमहानगरपालिकाले यस्तो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अपाङ्ता भएकै कारण नागरिकले एक ठाउँबाट अन्य ठाउँमा जान पाउने अधिकारबाट बञ्चित हुन नहुने बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरे, महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने लगायतकोे उपस्थिति रहेको थियो ।