हेटाैंडा । हेटाैंडाबाट अन्दाजी ३ वर्षीय एक बालक बेवारिसे अवस्थामा फेला परी प्रहरीको सहयोगमा उद्धार गरिएकाे छ । उद्धार गरिएका बालककाे परिवारकाे खाेजी गरिदिन सिविन बाल हेल्पलाइन मकवानपुरले अनुराेध गरेकाे छ ।
कृष्ण तामाङ्ग नाम बताउने, गहुँगोरो वर्ण, दाहिने गालामा कालो ठूलो कोठी भएको, दाहिने कानमा मुन्द्रा लगाएको बालक परिवारको जानकारी दिननसक्ने भएपछि परिवार खोजीमा समस्या भैरहेको सिविन बाल हेल्पलाइन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञवालीले बताउनुभएको छ । बालकका परिवारलाई सबैको सहकार्यमा खोजीको लागि आव्हान गर्दै ज्ञवालीले बालकलाइ चिन्नुहुने जो कोहीले पनि बाल हेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभएको छ । बालकलाई शुक्रबार जिल्लाप्रहरी कार्यालय मकवानपुरले हेटौंडा १० स्थित बसपार्कमा फेलापारी तत्काल उद्धार गरी संरक्षण एवम् परिवार खोजीकालागि बाल हेल्पलाइनमा पठाइएको थियाे ।
आमाको नाम फुलमाया तामाङ्ग बताउने बालकले आमाको मृत्यु भएको र बुवाको बारेमा थाहा नभएको र आफु मामासँग बस्दै आएकोमा मामा तरकारी किन्नगई नफकिँदा आफु अलपत्र परेको बताएका छन् । बालकले उद्धारको समयमा कालो रंगको स्पोर्टस जुत्ता, निलो भित्र भुँवा भएको ज्याकेट, धर्के टिसर्ट र रातो सुरुवाल लगाएकाे बताइएकाे छ । बालकको साथमा कालो सानो ह्याण्ड ब्याग र त्यस भित्र खेलौनाहरु, चिउरा र बिस्कुटको पाकेट रहेकाे छ ।