मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ जातिको न्वागी पर्वका अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै चेपाङ जातिको न्वागी पर्वको अवसरमा भदौ २१ र २२ गते बिहिबार र शुक्रवार सार्वजनिक विदा दिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी र्गनु भएको सूचनामा चेपाङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ । चेपाङहरुको बाहुल्यता रहेको गाउँपालिकाले प्रत्येक वर्ष न्वागी मनाउन बिदा दिँदै आएको छ । यसैबीच बागमती प्रदेश सरकारले पनि न्वागी पर्वको अवसरमा भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा प्रदेशको तीन जिल्ला (मकवानपुर, चितवन र धादिङ) मा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
