file photo

मकवानपुर । बागमती प्रदेश सरकारले न्वागी पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशकाे तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा प्रदेशको तीन जिल्ला (मकवानपुर, चितवन र धादिङ) मा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, चीतवन र धादिङ चेपाङ समुदायको वाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि सार्वजनिक विदा दिइएको सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयाे । यस्तै बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ–५, काठमाडौंकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरको छ । यस्तै प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । संगठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयको श्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौता गर्न अख्तियारी दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयाे ।