नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलमा आजदेखि सुरु भएको छ । बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शनिबार दिउँसो अधिवेशन सुरु भएको हो ।
अधिवेशनको बुटवलको रामनगरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो ।
साे अवसरमा उहाँले दक्षिणपन्थीसँग मिलेर अदालतको बलमा एमालेको सरकार ढालिएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ईपीजीको प्रतिवेदनको बारेमा कुनै कुरा नउठाएको भन्दै एमाले अध्यक्ष ओलीले देशको स्वाधिनता, भौगोलिक अखण्डता हुनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यतालाई तलमाथि हुन नदिने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले गएको जेठ १७ मा भारतको भ्रमण गर्नुभएको थियो । सम्मेलनको उद्घाटन सत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गर्नुभएको छ ।
महासचिव शंकर पोखरेलले देशमा धेरै दल नभइ बलिया दल हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभको छ । त्यस्तै उपमहासचिव प्रदीप ज्ञवालीले सुशासनका कुरा गर्ने प्रधानमन्त्री प्रचण्ड नै भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने अभियानमा लागेको आरोप लगाउनुभएको छ । एमालेले मञ्चमा अतिथि नराख्ने निर्णय गरेअनुसार अधिवेशनको उद्घाटन सत्रमा सबैजना दर्शक दीर्घामा रहेका थिए । वक्तालाई बोल्ने समयमा र सम्मेलन पूर्व बिहान बुटवलसहित आसपासका क्षेत्रबाट झाँकी निकालिएको थियो । एमाले कार्यकर्ताहरुले अधिवेशनस्थलमा समेत झाँकी प्रस्तुत गरेर संगीतमय बनाएका थिए ।
सम्मेलनमा भाग लिन प्रदेशभरबाट एक हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् । त्यसमा १२ वटै जिल्लाका ८२ हजार ८ सय ९५ पार्टी सदस्य र विभिन्न २३ वटा जनसंगठनहरुबाट छनोट भएका हुन् । अधिवेशनले सोमबारसम्म नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । यसअघि लुम्बिनीमा पाँच सय ७६ सदस्यीय कमिटी थियो । अधिवेशनले प्रदेश संगठन कमिटीलाई घटाएर दुई सय पाँच सदस्यीय बनाउने इन्चार्ज पद्मा अर्यालले बताउनुभयाे । एमालेको वर्चश्व रहेको लुम्बिनीबाट एमाले केन्द्रीय पदाधिकारीमा दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, तीन सचिवसहित ७ जना छन् । केन्द्रीय कमिटीमा ६० सदस्य छन् । १२ जिल्ला रहेको प्रदेशमा २६ संघीयमध्ये ११ तथा ५२ प्रदेश सांसदमध्ये १८ क्षेत्रमा जितेर लुम्बिनीमा एमाले पहिलो दल बनेको हो ।