हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन तयार गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुवँरले अक्सिजन सहितको आइसोलेसन तयार भएको जानकारी दिनुभयो ।
गाउँपालिकाले महेन्द्र माध्यमिक विद्यालयलाई अक्सिजन सहितको ३५ बेडको आइसोलेसन संचालन गरेको अधिकृत कुवँरले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या भएकालाई आइसोलेसनमा राखिनेछ । गाउँपालिकाले संक्रमितको उपचारको लागि निशुल्क आइसोलेसन संचालनमा ल्याएको छ उहाँले भन्नुभयो, आइसोलेसनमा एक डाक्टर र दुई नर्स सेवामा खट्नेछन् । संक्रमितहरुको लागि खाना र खाजा व्यवस्थापन गरेका छौ । अधिकृत कुवँरले संक्रमण पुष्टि भएका संक्रमितलाई घरबाट आइसोलेसन ल्याउनको एम्बुलेन्सको व्यवस्थापन गरेको समेत जानकारी दिए । अधिकृत कुवँरका अनुसार गाउँपालिकामा कोरोना संक्रमण जोखिम बढ्न प्रत्यक वडामा कोभिड सचेतना कमिटि निर्माण गरिएको र कमिटिले वडामा संक्रमण बढ्न नदिन सचेतनामुलक कार्यहरु गर्नेछ ।
यसैबिच आज भीमफेदी गाउँपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा गाउँपालिका वडा नंबर २ की ५१ वर्षीया महिला रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक राम नाम थिङ्गले जानकारी दिए । उनले आज पुष्टि भएकी महिलालाई गाउँपालिकाको आइसोलेसनमा ल्याउने तयारी भएको जानकारी दिनुभयो । भीमफेदी गाउँपालिकामा हालसम्म ९९ जनामा कोरोना पुष्टि भएकामा ९२ जना संक्रमण मुक्त भइसकेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । भीमफेदीमा आजको दिनमा ७ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म सबैजना आ आफ्नै घरमा उपचाररत रहेको जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।